कुनै कुराप्रति विरोध जनाउन ढुगामुढा तथा भौतिक आक्रमण नै गर्नुपर्छ भन्ने छैन । अमेरिकामा एक महिला कलाकारले आगामी राष्ट्रपतिका एकजना उमेद्धारको महिला विरोधी भनाइको विरोधमा अनौठो तरिका अपनाइन् । उनले रजश्वला हुँदाको आफ्नै रगतले ती व्यक्तिको मुखाकृति चित्र बनाइन् र अहिले उक्त चित्रलाई बेच्ने घोषणा गरेकी छिन् ।
अमेरिकाको पोर्टल्याण्ड निवासी कलाकार सराह लेवीले अमेरिकाको आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उमेद्धार बनेका डोनाल्ड ट्रुम्पको व्यंग्यात्मक चित्र रजश्वलाको आफ्नो रगतले पोतेर तयार पारेकी छिन् ।
हालैको एक टेलिभिजन अन्तरवार्तामा डोनाल्डले महिलाको रजश्वला चक्रका बारेमा दिएको अभिव्यक्ति तथा महिलाप्रति लगाएको लैंगिक लान्छनाको विरोध गर्दै उनले यस्तो चित्र तयार पारेको बताएकी छिन् ।
रातो तथा सेतो रंगको मुखाकृतिमा अनुहारभरि रगतको रातो पोतिएको छ भने दाँत मात्र सेता देखिन्छन् र वास्तवमा निकै कुरुप अनुहार बनाइएको छ डोनाल्डको ।
फक्स टेलिभिजनमा हालै भएको रिपब्लिकन पार्टीका उमेद्धारहरुको प्रत्यक्ष अन्तरवार्ता कार्यक्रममा डोनाल्डले टेलिभिजन कार्यक्रम संचालिका मेग्यन केलीमाथि अभद्र टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेका थिए : हेर्नुस् उहाँको आँखाबाट रगत बगेको देख्न सक्नुहुन्छ । आँखाबाट मात्र होइन अन्य ठाउँबाट पनि रगत आइरहेको छ ।
महिलाहरु प्रति पहिले देखि नै रुखो टिप्पणी गर्ने डोनाल्डसँग पत्रकार केलीले कडा खालका प्रश्नहरु गरेर अक्क न बक्क पारेपछि डोनाल्ड आत्मरक्षाका लागि यस्तो तल्लोस्तरको टिप्पणीमा उत्रिएका बताइएको छ । केली रजश्वला भएकी र रजश्वलाको अवस्थामा सरीरमा आउने हर्मोनकै कारण उनी उत्तेजित भएर एकतर्फी प्रश्नहरु गर्ने गरेको गुनासो सायद डोनाल्डको थियो ।
अमेरिकाको आगामी राष्ट्रपतिका लागि लडिरहेका एक व्यक्तिले महिलाप्रति गरेको त्यस्तो टिप्पणी सहन नसकिने भन्दै कलाकार सराहले भनिन् : मैले मेग्यनप्रति उनले गरेको टिप्पणी सुनेँ र मलाई निकै रिस उठ्यो । उनले राजनीतिक प्रश्न पन्छाउनका लागि महिलाको महिनावारीको प्रयोग मात्र गरेनन् महिलाको बौद्धिकताको उपहास पनि गरेका छन् ।
राष्ट्रपतिका उमेद्धारको महिला प्रतिकेा त्यस्तो टिप्पणीबाट क्रुद्ध बनेकी सराहले त्यसपछि आफ्नो महिनावारीको चौथो दिन बगेको रगत कपमा सँगालिन् अनि सोही रगतमा ब्रस चोपेर क्यानभासमा उनै डोनाल्डको कुरुप मुखाकृति तयार गरिन् ।
सोसलिष्टवर्कर डट ओआरजी नामक वेबसाइटमा नियमित लेखिका समेत रहेकी र पेसाले कलाकारसँगै समाजसेवी समेत रहेकी सराहले कुनै राज्यको गभर्नर वा धनाढ्यको नेता नभै अमेरिकाको राष्ट्रपतिका लागि लडिरहेको मानिसले यस्तो टिप्पणी गर्न नसुहाउने भन्दै त्यस्तो मानिस अझैपनि चुनावी दौडमा रहनु आश्चर्यको कुरा रहेको बताएकी छिन् ।
सराहले महिनावारीको रगतबाट सम्भावित भावी राष्ट्रपतिको चित्र बनाएपछि अहिले सामाजिक संजालमा #periodsarenotaninsult ह्यासट्याग निकै चर्चित बनेको छ ।
सराहले आफुले तयार पारेको रक्तचित्र सँगै अन्य पोष्टरहरु समेत लिलामीमा बिक्रि गर्ने र त्यसबाट संकलित रकम अमेरिकामा रहेका आप्रवासीहरुको लागि खर्चर् गर्ने घोषणा गरेकी छिन् ।